लुम्बिनी चिनी उद्योगको प्रदुषणले स्थानीयलाई समस्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा स्थानीयवासीलाई समस्या भएको छ ।

मुख्य बजार क्षेत्रमा रहेको उक्त उद्योगले उखु क्रसिङ सुरु गरेपछि उडेको खरानीसहितको धुलोका कारण सुनवल बजार क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् ।

खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ । खरानीसहितको धुलोका कारण स्वास्थ्यमा पनि असर गर्न थालेको र वातावरणमा नकारात्मक प्रभाव परेकाले उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यान आकर्षण गराइएको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।

“उद्योगको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएकाले यस विषयमा उद्योग व्यवस्थापन पक्षसँग छलफल गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “सुनवलवासीलाई उद्योगले समस्यामा पारेकाले प्रदूषण नहुने गरी सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।” उद्योगको धुलोका कारण हिँडडुल गर्न र कपडा धोएर सुकाउन नपाएको स्थानीयको गुनासो छ ।

उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले धुलो नियन्त्रणका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताउनुभयो । “केही दिनमै समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । उद्योगले केही दिन अगाडिदेखि उखु पेल्न सुरु गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका तीन ठूला चिनी उद्योगमध्ये बाँकी दुईले भने धुलो नियन्त्रणका लागि उपकरण जडान गरेका छन् ।

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *