अध्यागमनले गर्‍यो विभागले भिजिट भिसामा कडाइ

काठमाडौं !   अध्यागमन विभागले भिजिट भिसामा विदेशयात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेकाे छ।

विभागले बुधबार वेभसाइटमार्फत् ११ बुँदे यात्रा परामर्श जारी गरी थप कडाइ गरेको हाे।

भिजिट भिसामा गएकाहरू ठगिनुका साथै नक्कली कागजात बनाएर यस भिसामा जाने प्रवृत्ति बढेपछि विभागले थप कडाइ गरेको हो। साथै भिजिट भिसामा गएकाहरू समयमै नआउने भएकाले पनि यसमा कडाइ गर्न थालिएको विभागले जनाएको छ।

विभागले जारी गरेकाे ११ बुँदे यात्रा परामर्शअनुसार अबदेखि दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ। साथै सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि उल्लेख गरिएकाे छ।

विभागका अनुसार अब कसैको निमन्त्रणा जान चाहे त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण पनि चाहिने भएकाे छ।

विभागले विदेश जाँदा नेपालकै विमानस्थलबाट मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ। भारत या अन्य तेस्रो मुलुकको विमानस्थल भएर यात्रा गर्दा नेपाली राजदूतावासबाट जारी हुने एनवसी लिएर मात्र यात्रा गर्न समेत विभागको अनुरोध छ।

भिजिट भिसामा द्वन्द्वग्रस्त मुलुकमा नजान पनि विभागले सचेत गराएकाे छ।