एकल महिलाबाट जन्मिएको बच्चाको बुबाको पहिचान नभए आमाकै थर–ठेगानाबाट जन्मदर्ता बनाउन सकिने

काठमाडौं । गृहमन्त्रालयले एकल महिलाबाट जन्मिएको बच्चाको बुबाको पहिचान नभए आमाकै थर–ठेगानाबाट जन्मदर्ता बनाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयले पञ्जिकरण शाखामार्फत ६७४३ वडालाई नै परिपत्र गर्दै विवाह नभइ एकल महिलाबाट जन्मेको बच्चाको ठेगाना तथा जन्मदर्ता आमकै आधारमा राख्न निर्देशन दिएको हो ।

सम्बन्धित निकायहरुबाट एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता गर्ने विषयमा थप प्रष्ट पारिदिन विभिन्न स्थानीय तहहरुबाट अनुरोध भई आएको भन्दै गृहमन्त्रालयले दोहोरो दर्ता नहुने सो अनुसार जन्मदर्ता गराउन निर्देशन दिइएको हो ।

निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।’

विवाह अघि बच्चा जन्माएको एकल महिलाले विवाह गरि श्रीमानसँगै बसेको तर पहिलेको बच्चा मामलीमै बसिरहेको र उनको पितृको ठेगाना नभए आमाको नाम ठेगानाकै आधारमा जन्दर्ता गर्न सरकारको निर्देशन छ ।

निर्देशनको बुँदा नम्बर २ मा भनिएको छ, ‘विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने।’

तर, बुँदा (१) र (२) अनुसार बच्चाको जन्म दर्ता भईसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिनुपर्ने निर्देशनमा जनाइएको छ ।

त्यस्तै बुँदा नम्बर १ र २ बाहेक अन्य अवस्थामा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार जन्मदर्ता गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *