केएमसीले भूकम्पका घाइतेलाई निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पले पश्चिम नेपाललाई आक्रान्त पारेको भन्दै घाइतेहरुको निःशुल्क उपचार गर्ने बताएकी हुन् ।

केएमसीका सल्लाहकार तथा मोरङ-३ का नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको सक्रियतामा भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गरिने प्रतिबद्धता गरिएको हो । सरकारसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेकोसमेत केएमसीले बताएको छ ।