सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा प्रतिबन्ध

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको छ। संखुवासभामा शुक्रबार सिम्रिकको हेलिकोप्टर दुर्घटना परेपछि उडानमा प्रतिबन्ध लगाइएको हो।

प्राधिकरण स्रोतका अनुसार सबै हेलिकोप्टरको प्राविधिक परीक्षणपछि मात्रै उडान फुकुवा हुनेछ। प्राधिकरणले आइतबार नै सबै हेलिकोप्टरको प्राविधिक परीक्षण गर्नेछ।

‘सिम्रिकको आइतबार टेक्निकल इन्स्पेक्सन हुनेछ। त्यसपछि आएको प्रतिवेदनका आधारमा उडान गर्न दिइनेछ,’ प्राधिकरणका एक कर्मचारीले भने। सो दुर्घटनामा संखुवासभाका स्थानीय भविन गुरुङको मृत्यु भएको थियो।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका थिए। शुक्रबार दिउँसो १:१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *