एक कक्षाबाटै सरकारी स्कुल पढेका बिध्यार्थी एमबीबीएस प्रवेस परिक्षामा सर्वोत्कृष्ट

काठमाडौ !११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्स दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा सर्वोत्कृष्ट भए—धनुषा सबैला गेरूवाही-१० का आशिक झा । २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी । बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने । सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए । आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’ त्यही कुरा बुवाले पनि उनलाई भने । धनुषा सबैला सामान्य परिवारमा वि.सं. २०६० जन्मिएका हुन्, आशिक । उनका बुवा पवननारायण झा सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । आमा घरव्यवहारमा तल्लीन थिइन् । किसान परिवारमा जन्मेका उनको घरबाट जनकपुर पुग्न झण्डै ५० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । तीन वर्षको हुँदा पहिलो पटक उनी धनुषाको आफू जन्मिएको गाउँबाट जनकपुर आए । जनकपुरमै उनको प्रारम्भिक अध्ययन अगाडि बढ्यो । पछि उनका बुवा जागिरको क्रममा उदयपुर गए । उनी बुवासँगै त्यही गए । त्यहाँको पन्चावती माविमा कक्षा ७ सम्म अध्ययन गरे । त्यसपछि पुनः जनकपुर फर्किए । जनकपुरको श्रीधाम माविबाट आशिकले वि.सं. २०७४ सालमा एसईई उत्तीर्ण गरे । ‘एसएलसीमा ३.७ जिपीई ल्याए,’ उनले भने । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । आर्थिक रुपमा पारिवारिक पृष्ठभूमी कमजोर थियो । ‘मैले सेन्ट जेभियर्समा पनि नाम निकालेको थिएँ,’ उनले सुनाए, ‘तर, महंगो भएपछि म विश्व निकेतनमा भर्ना भए ।’ सामुदायिक विद्यालयहरुमाझ फरक छवि र उत्कृष्ट मावि हो विश्व निकेतन । ११ र १२ कक्षाको अध्ययन उनले जम्मा २८ हजार रुपैयाँमै सके । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७३ जीपीई ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *