पूर्वमन्त्री नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं !  पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन् ।

बुधबार बिहान ताप्लेजुङमा अचानक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् राजधानी ल्याइएको हो । अहिले उहाँको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल उपचार भइरहेको छ ।

चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताएका छन् । उहाँको टाउकोको देब्रेतर्फको फुटेको नशाको अप्रेसन सफल भएको छ । अप्रेसन सफल भएपछि स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकको भनाइ छ ।

एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका नेम्वाङ कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेको समयमा स्वास्थ्यमा समस्या देखिएको हो । नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।