वीर अस्पतालमा बन्दै छ अत्याधुनिक जलन उपचार कक्ष

काठमाडौँ। तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ।

दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उनकी आमाको भने निधन भएको थियो।

नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद भण्डारीलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो।

नयाँ वर्ष २०८० का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले अब आफू नेपालमा नै आएर उपचार गर्ने बताएका छन्।

सोही घटनाबाट नेपालमा राज्य तहमा जलन अस्पताल नरहेको उजागर भएको थियो। त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएको भोलिपल्ट २०७९ फागुन ५ गते वीर अस्पतालका कार्यकारी निर्देशकमा नियुक्त भएका डा. सन्तोष पौडेलले पहिलो निर्णय गर्दै तीन महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए ।

उनले घोषणा गरेको दुई महिना हुन लागेको छ। अबको एक महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष सञ्चालनमा आइसक्नुपर्ने हुन्छ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *