म्याग्दी- प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।
टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताउनुभयो । “पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ”, उहाँले भन्नुभयो, “टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”
मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको अनुभव सुनाउनुभयो । “गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो”, उहाँले भन्नुभयो “हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।”
गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताउनुभयो । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्कनुभयो । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।
गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताउनुभयो । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।
हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।
डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।
टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ ।
टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।
उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।
पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे-पछै-ढोलथान-केभहिल-जगन्नाथ-ढडेकोट दरबार-टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।
धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ । रासस