एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटरबीच भेटवार्ता

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनु भयो।

भेटमा होलेनले दुई देशबीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानलाई निरन्तरता दिँदै अघि बढ्न अमेरिका तयार रहेको बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राख्नु भएको थियो। त्यसक्रममा उहाँले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिनु भयो। जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएकै बेलादेखि सो सम्बन्धी विधेयक अघि बढाएको बताउनु भयो।

‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्‍याउने प्रयास गरेको हाम्रो अध्यक्ष तथा संसदीय दलको नेताले प्रष्ट राख्नु भयो । अहिले पनि संसदमा विधेयक आइसकेको छ। अव अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्वाङले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *