पञ्चाङ्ग निर्णायक समितिले गर्यो २०८० का लागि १५ पात्रो छाप्न स्वीकृति

काठमाडौं । विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो ।

गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *