कालापानी क्षेत्रमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई सरकारको आग्रह

काठमाडौँ — नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ रहेको भन्दै उक्त क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता कार्कीले भने, ‘महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ ।’

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माणबारे सरकारको धारणा जारी गर्दै उनले भने, ‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ । नेपाल र भारतबीच रही आएको घनिष्ट र मैत्रिपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचका सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *