अमेरिकी सेना नेपाल छिरेर गर्दैछ कार्यक्रम,सरकार बेखबर

विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि अमेरिकी सेनाको टोली ४७ लिटर क्षमताका ४४ सय सिलिण्डरसहित जिल्ला जाँदैछ । मानवीयता, स्वास्थ्य संवेदनशीलताका दृष्टिले यो प्रशंसायोग्य कार्य नै हो । तर, विधि, पद्धति भएको देशमा विदेशी सेना यसरी तलसम्म जान लाग्दा नेपाली सेना भने प्रतिक्रियाविहीन अवस्थामा देखिन्छ ।

स्वास्थ्य मन्त्रालयसँग समेत सीधै समन्वय नगरेर यस्तो काम हुन लागेको हो । त्यसका लागि अमेरिकी सरकारले आफ्नो देशबाट सैनिकहरु उतारेको छैन । यहीँ तैनाथ विभिन्न मिसनमा सैनिकबाटै काम गराउने तयारी छ । तर, यो मामिलामा जंगी अड्डा र रक्षा मन्त्रालय संलग्न छैनन् । अमेरिकाको विभिन्न सैन्य युनिटका मान्छेहरु नेपालमा कार्यरत छन् ।

रक्षा मन्त्रालय पेन्टागनदेखि इन्डो प्यासिफिक कमाण्ड र प्रशान्त क्षेत्र हेर्ने स्पेशल अपरेशन्स कमाण्डसम्मबाट मरिनहरु गार्ड र अन्य रुपमा खटिएर नेपाल आउँछन् । अक्सिजन वितरणको काममा पनि तीनवटा कमाण्डका मान्छेहरु संलग्न हुनेछन् । उनीहरुले सीधै नेपालको स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने भनेका छन् तर स्वास्थ्य प्रवक्तालाई यसबारे जानकारी छैन ।

प्रवक्ता कृष्ण पौडेल भन्छन्, ‘हामीलाई कसले सोध्छ र !’ रक्षा मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञवालीलाई सोध्दा मन्त्रालयलाई यस विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । ‘हामीलाई यसबारे केही जानकारी छैन, परराष्ट्रसँगको समन्वयमा भएको होला कि ?’

त्यसो त यसअघि सीधै भारतीय परियोजना भित्रिएको इतिहास छ । विभिन्न शीर्षकमा भारतीय राजदूतावासले सीधै पाँच करोडसम्म चाहेका प्रत्येक ठाउँमा वितरण गर्नसक्छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *