यस्ता छन हिजो बसेको मन्त्रीपरिषद बैठकका निर्णयहरु

काठमाण्डाै – हिजाे बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको छ । यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानुन समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सरकारका प्रवक्ता कार्कीका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसअनुसार पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएकाे छ ।भारतीय सशस्त्र सीमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय भएकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएकाे छ ।

यस्तै भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने र राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा. दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *