नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति

काठमाडौं ! राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ।
निगमको ६३ वर्षे इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो। नियामक नेपाल नागरिक उड्‍डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमतिपत्र प्रदान गरेको हो। निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ।

उक्त अनुमतिपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गरे। योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्‍डयन सङ्‍गठन (आईकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *