हैरान छन् सचिवहरू

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् ।

मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नुपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने ।

उनका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म सचिवहरूलाई मन्त्रालयको गतिविधि के कस्तो छ, कसरी काम गर्नुहुन्छ ? भनेर खासै सोध्ने गरेका छैनन् । ‘चार-पाँच पटकसम्म मन्त्रालयको काम लिएर प्रधानमन्त्रीकहाँ गएँ तर उहाँले मन्त्रालयबारे कहिल्यै पनि सोधीखोजी गर्नुभएन,’ अर्का एक सचिवले भने । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयहरू मन्त्रीको अभावमा निष्प्रभावी जस्तै देखिएका छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *