विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब ऋण सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच नेपालमा खानेपानी तथा सरसफाई सेवा सुधारका लागि करिब १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनामा हस्ताक्षर भएको छ ।

खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच आज आठ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको थियो ।

आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्ने सचिव मरासिनीले बताउनुभयो ।

खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *