आजबाट सरकारी कार्यालयहरु हप्ताको ६ दिन खुल्ने

काठमाडौँ – सरकारले आजदेखि कार्यालय समय पुरानै निर्धारण गरेको छ ।

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले सरकारी कार्यालय समय ६ दिन लागु गर्ने भएको हो ।

जेठ १ गतेदेखि सरकारले हप्तामा दुईदिन सरकारी कार्यालयमा बिदा दिन थालेको थियो । तर, यो निर्णय सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

“मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ,” गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ, “सबै सरकारी कार्यालयहरूमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।”

शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *