लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले मन्त्रालय फुटाउन तयार

काठमाडौं ! प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।

यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।

यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् । लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । उसले मंगलबार प्रधानमन्त्री देउवालाई ११ बुँदे लिखित मागसहितको पत्र नै बुझाएको छ ।

‘लोसपाले प्रधानमन्त्रीलाई आफ्ना माग राख्ने, त्यसमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाउने र त्यसपछि लोसपा सरकारमा सहभागी हुनेगरी तयारी भएको हो,’ स्रोतले अघि भन्यो । लोसपा नेता केशव झाले भने सरकारमा सहभागी हुने हल्लामा कुनै सत्यता नरहेको दाबी गरे ।

‘लोसपा सरकारमा सहभागी हुने हल्लामा सत्यता छैन, हामीले विगतदेखि नै राख्दै आएका माग पूरा नभएसम्म सरकारमा जाने कुरा आउँदैन, सरकारमा जाने भए माग नै राख्ने थिएनौं,’ झाले भने । लोसपा नेत्री चन्दा चौधरीले पार्टीको आगामी नीतिका विषयमा छलफल भइरहेको जानकारी दिइन् । उनले सरकार र सत्ता गठबन्धनमा सहभागी हुने विषयमासमेत पार्टीभित्र र बाहिर छलफल जारी रहेको तर कुनै टुंगो भइनसकेको बताइन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *