काठमाडौं ! सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ । १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।