सरकारको लापरबाही बिरुद्ध वैदेशिक रोजगारीमा हिडेका युवाहरुको विरोध प्रदर्शन

काठमाडौं । वीरगञ्जबाट आएका धनञ्जय ठाकुर निराश देखिन्छन् । उनीसँग रहेको युनाइटेड अरब इमिरेट्स (यूएई)को भिसाको म्याद १५ दिन मात्र बाँकी छ । उता कम्पनीले छिटो आउन भनिरहेको छ । यताबाट उनी दुबईतर्फ प्रस्थान गर्न सकेका छैनन् । माइतीघर मण्डलामा विरोध र्‍यालीमा भेटिएका उनी भन्छन्, “गाउँबाट यहाँ आउँदा ६५ हजार खर्च भइसक्यो । खल्तीमा सुक्को छैन । कहिले जान पाउने हो टुङ्गो पनि छैन ।”

वैदेशिक रोजगारीका लागि आफ्नो देश आउने श्रमिकहरूका लागि यूएई सरकारले ४ घण्टाभित्र भएको र्‍याली पीसीआर टेस्ट गरेका रिपोर्ट अनिवार्य गरेपछि सयौँ श्रमिकहरू अलपत्र परेका छन् । उनीहरूले ‘सरकार कहाँ छ ? हामी दुबई फर्कन चाहन्छौँ ?’ जस्ता ‘प्लेकार्ड’ बोकेर माइतीघरमा प्रदर्शन थालेका छन् ।

गत सोमबार राति दुबई उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ठाकुर र्‍याली पीसीआर टेस्टविना जान नपाउने भएपछि एयरपोर्टमै अलपत्र परेका थिए । उनले हिमालयन एयरलाइन्सबाट चर्को मूल्यमा ५० हजारको टिकट काटेका थिए ।

यस्तै, पीडा छ, गीता पोखरेल शर्माको पनि । दुबई जान विमानस्थल पुगेकी उनी अचानक र्‍याली पीसीआर टेस्ट नभएर हवाईजहाज चढ्न नपाएपछि तनावमा छिन् । “म एकल महिला हो । सन्तान हेर्नुछ । कि त सरकारले रोजगारी देओस् कि त सजिलै विदेश जान पाउने व्यवस्था गराेस्,” आक्रोशित बनेकी उनले भनिन् ।

शर्माले पनि हिमालयन एयरलाइन्सबाटै ४८ हजारको टिकट काटेकी थिइन् । बुटवलदेखि आएकी उनी सरकारको ‘रवैया’प्रति आक्रोश पोख्छिन् । उनी भन्छिन्, “यस्तो लापारबाही किन गरेको ? हामीले पीसीआर टेस्ट गर्यौँ । आरडीटी भनेर केमएसीमा ७ सय तिरेर गर्न लगाए । तर त्यो टेस्टको काम नै रहेनछ ।”

यता नेपाल एयरलाइन्सले पनि सोही टेस्ट १५ सय तिरेर गर्न लगाएको पीडितहरूको गुनासो छ ।

विमानस्थल राति ९ बजे पुगेपछि मात्र  श्रमिकहरूले र्‍याली पीसीआर टेस्ट आवश्यक पर्ने विषयमा थाहा पाएका थिए । त्यतिबेला नेपाल एयरलाइन्सका टिकट भएका केही श्रमिक बोर्डिङ पास लिएर भित्र प्रवेश गर्दै थिए भने अन्य लाइनमै थिए । राति केही श्रमिकले हिमालयन एयरलाइन्सले होटलमा राखे पनि धेरैजसो अलपत्र परे ।

शर्मा काठमाडौंको बसाइ लम्बिँदा कोरोनाको जोखिम झन् बढेको बताउँछिन् । “सरकारले बेवास्ता गर्दा विरोध र्‍याली निकाल्नु परेको छ । यही भिडमा कोरोना सर्ला कि भन्ने डर छ,” उनले भनिन् । शर्मासँग एक महिनाको मात्र भिसा बाँकी छ ।

यसबारेमा विमानस्थलका प्रवक्ता रिन्जी शेर्पासँग जिज्ञासा राख्दा उनले भने, “यूएईमा मागेको टेस्टको प्रकार आरडीटी होला भन्ठानेर त्यही गरिरहेको तर खासमा फरक खालको टेस्ट रहेछ । हाल परिसरभित्र त्यसप्रकारको उपकरण नभएकाले स्वास्थ्य मन्त्रालयलाई सोमबार नै निवेदन पठाएको छौँ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा उपकरण उपलब्ध गराउन अझै १० दिन लाग्ने बताएको छ । राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा. रुना झाले र्‍याली पीसीआर टेस्ट गर्ने एउटा उपकरण भएपनि त्यसले सम्पूर्ण श्रमिकलाई ४ घण्टाभित्र सेवा दिन नसक्ने बताइन् । “निजीसँग पनि त्यस्तो उपकरण छैन । यसका लागि अमेरिकाबाटै खरिद गर्नुपर्छ । हामीले सरकारलाई खबर गरिसकेका छौँ । १० दिनमा आउला कि !,” उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *