देशभर आजबाट टाइफाइड विरुद्धको खोप सुरु

काठमाडौं । आजबाट टाइफाइडविरुद्धको खोप अभियान कार्यक्रम संचालन हुँदैछ । सरकारले नै यसलाई राष्ट्रिय खोप अभियानका रुपमा अघि बढाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार काठमाडौंको दरबार हाइस्कुलमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको सुरुवात भएको घोषणा गरेका हुन् ।

कार्यक्रम अन्तर्गत शुक्रबार आजदेखि देशभरका बालबालिकालाई खोप लगाइने कार्यक्रम छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना अभियानको जस्तै टाइफाइड विरुद्धको अभियान पनि स्वास्थ्यकर्मीहरुले सफल बनाउनु पर्ने बताए ।

यो अभियान २०७९ वैशाख १८ गतेसम्म रहने सरकारले जनाएको छ । यसअन्तर्गत १५ महिनादेखि १५ वर्षका करिब ७५ लाख बालबालिका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको विश्वास छ।

खोप लगाउनका लागि मुलुकभर ५० हजार भन्दा बढि विद्यालयलाई केन्द्र तोकिएको छ । टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउने भएकाले त्यसको नियन्त्रणका लागि सरकारले अभियानको रुपमा कार्यक्रम ल्याएको हो ।

टाइफाइड खोपको देशब्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *