काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । यस्तै, सरकारले बेपत्ता रहेको १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।
सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। उक्त अवधिमा तीन दिनसम्म सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो।
दुई दिनको लगातारको वर्षापछि उत्पन्न बाढी-पहिरोबाट हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। बाढीबाट काठमाडौँ उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप बढी प्रभावित छन्।
यस्तै प्रधानमन्त्री ओलीले सबै राजमार्गलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सबै कदम उठाउन र आवश्यक पर्ने कामको प्रतिवेदन ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएका छन्।
आवास गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न तथा पुनर्निमाणका लागि क्षतिअनुसारको कानुनले तोकेको राहत दिने निर्णयसमेत गरिएको छ ।