अब दैनिक २० किलो सुन आयात गर्न पाइने

काठमाडौं ! दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो ।

अब मासिक रुपमा मिलान गरेर सुन आयात गर्न सकिने भएको छ। कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न सकिने छ।  तर कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरुमा आयात गर्न पाइने छैन ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।