गभर्नर अधिकारीको गम्भीर खुलासा : आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै अवस्थामा पुग्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयातले विदेशी मुद्रा सञ्चितिसमेत सकिँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् ।

उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभई विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए ।
“अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिट्यान्स आएको छ । त्यो पैसाले आयात गरेका छौँ । त्यो खाँचो छ । उत्पादन छैन । नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौँ । आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्‍यो नि ? त्यो योजना हाम्रो हुनुपर्‍यो । त्यति गर्न सकेनौँ । त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझैँ गयो भने हामीलाई भोलि समस्या पर्छ । त्यसकारण हामी सबै सतर्क र सजक रहौँ भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौँ । जनताले दुःख गरेर ल्याएको सम्पत्ति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन् । त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनुपर्‍यो । त्यो गरियो भने दैनिक आयात गरेर खानुपर्ने समस्या अन्त्य हुन्छ । तर यस्ता कुरालाई इग्नोर गरौँ भने आजको दिन सम्झनुस् । हिजो लिटेसँग लडाई गर्दा पनि नभएको चुनौती अहिले श्रीलंकाली जनतामा भएको छ । त्यो लेभलको समस्या भोगेर बस्नुभएको छ । हामी यो कुरामा सच्चै सतर्क हुन जरुरी छ । मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौँ,” उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *