सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

काठमाडौं ! न्युनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठिक कार्यदलले नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको छ। शुक्रबार बसेको कार्यदलको बैठकले न्युतम साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको हो।

कार्यदलले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष साझा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

अघिल्लो वर्ष एमाले,  रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ।। प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तनको निर्णय लिएसंगै २१ फागुनमा नीति तथा कार्यक्रमको लागि कार्यदल बनेको थियो।

न्युनतम साझा नीति तथा कार्यक्रम निर्माण गर्नका लागि १० दलिय कार्यदल गठन भएको थियो। कार्यदलमा एमाले उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल, माओवादीबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा मुकुल ढकाल तथा जसपाबाट केन्द्रिय कार्यकारिणी सदस्यद्वय मनिश सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एसबाट उपाध्यक्ष  प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन्।एकीकृत समाजवादी पनि सरकारमा सामेल भएपछि कार्यदलमा सो पार्टीबाट पनि प्रतिनिधि समेटिएका हुन्।

न्युनतम साझा नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ। कार्यक्रममा अबको चारबर्षमा सरकारले गर्न सक्ने कामलाई मात्र समेटेर कार्यम निर्माण गरिएको बताइएको छ। कार्यक्रममा संघियता कार्यन्वयनका लागि बाँकी कानुन निर्माणको प्रतिबद्दता, कृषि उत्पादन बढाउने कार्यक्रम, सन्तुलित विदश नीति, जनतालाई छिटो छरितो सरकारी सेवा प्रवाह मार्फत सुशासनको अनुभूति, कर्मचारीको मनोबल वृद्धि जस्ता बिषय समेटिएको छ।