सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं ! सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबीचको सोमबारको बैठकमा समसामायिक राजनीतिको विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न आवश्यक नभएको निष्कर्ष निस्केको हो ।  नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छानबिन गरिरहेको भन्दै उच्चस्तरीय छानबिन आयोगको गठनले सीआइबीको कामलाई अवरोध गर्ने र मुद्दालाई ‘डाईभर्ट’ गर्न सक्ने बताए ।

उनले बैठकबारे जानकारी दिँदै भने , “छलफलमा उच्चस्तरीय छानबिन आयोगको माग गर्नु भनेको अहिले भइरहेको छानबिनलाई अवरोध गर्नु र यो मुद्दालाई डाइभर्ट गर्नु हो भन्ने निष्कर्ष निकालेको छ ।”

उनले पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराको सुन प्रकरणमा संलग्नताबारे छानबिन भइरहेकोसमेत जानकारी दिए । “यो भन्दाअघिको सुन प्रकरणमा हाम्रो पूर्वसभामुखज्यूको नाम पनि जोडिएको छ”, उनले भने, “उहाँको संलग्नता कति हो ? फोन सम्पर्क मात्रले संलग्नता जनाउँछ भन्ने प्रमाणित गर्न सकिन्न, छलफलमा यो प्रश्न गृहमन्त्रीसँग राख्दा छानबिन भइरहेको जानकारी दिनुभयो । गृहमन्त्रीले छानबिनको प्रक्रिया एक हदमा पुगेपछि मात्र बताउन सक्ने बताउनुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *