सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगीयो : सिट बाँडफाँडको सकसले नेताहरु चिन्तित

काठमाडौँ !  सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण अनुपस्थित थिए । बुधबार फेरि बैठक बस्ने गरी मंगलबारको बैठक सकिएको छ ।

नेता पुरीले मंगलबारको बैठकमा सिट बाँडफाँडका आधारहरूमाथि नै छलफल भइरहेको बताए । ‘अहिले के–के आधारमा सिटको बाँडफाँड गर्ने भन्ने नै टुंगिएको छैन । किनभने अहिले एउटामात्रै आधारले सिटको भागबण्डा हुन सक्ने अवस्था छैन । २०७४ को समानुपातिकको परिणाम, प्रत्यक्षतर्फको परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामहरूलाई आधार मानेर सिटको बाँडफाँड गर्ने हाम्रो प्रयास छ,’ उनले भने, ‘तर यी सबै फरक फरक आधार हुन् । कहाँ कसको राम्रो अवस्था छ ? कसलाई दिँदा खेरि जित्ने सम्भावना हुन्छ ? सबै कुरा हेर्नुपर्ने हुन्छ ।’

उनले आगामी ९ गतेसम्म सिट सम्बन्धि एउटा समझदारी बनिसक्ने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *