सत्ता गठबन्धनले स्थानीय तहको रिपोर्ट पठाउने मिति थपेको थप्यै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरे पनि निर्णयको कार्यान्वयनमा भने बेमेल देखिएको छ ।

केन्द्रले गर्ने तालमेलमा स्थानीय तहमा रहेका दलका संयन्त्र अनिच्छुक बन्दै गएपछि सत्ता गठबन्धन आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्थानीय तहलाई संयन्त्र बनाएर तालमेल तय गर्न र सोहीअनुसार तहगत रूपमा निर्णय सिफारिस गर्न भनेका हुन् ।

मंगलबार गठबन्धन आबद्ध पाँच दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । सो बैठकले गठबन्धनबाट तालमेलको मोडालिटी तय गर्ने र टिकट बाँडफाँट गर्ने गरी प्रदेश र जिल्लामा संयन्त्र बनाउने निर्णय गरेको कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेगरी सहमति भएको छ ।

प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *