प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुँदै

कैलाली ! कैलालीको अत्तरियामा दोस्रो संस्करणको प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा गोदावरी १ मा रहेको न्यु सृजनशिल युवा क्लव (सिवाईसी) अत्तरियाको आयोजनामा यहि चैत २६ गतेदेखी ३० गते सम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक सिवाईसीले बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करण बारे जानकारी दिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका जुनसुकै टिमहरुले पनि सहभागीता जनाउन पाउने खेल संयोजक विक्रम विष्टले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया, दृृतिय टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया र तृतिय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले जानकारी दिए । त्यस्तै प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए । प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ ।

प्रतियोगितमा कुल १६ लाख ७६ हजार ६ सय ६५ रुपैया खर्च लाग्ने अनुमान गरीएको आयोजकले बताएको छ । प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेल मैदानमा हुने बताईएको छ ।

क्लबका कोषाध्यक्ष दिपक कँडेलको सभापतित्वमा भएको पत्रकार सम्मेलनको प्रमख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सदस्य छबिन्द्र नाथ योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *