नाली निर्माणका क्रममा भएको लापरबाहीका कारण गैँडा मरेको निष्कर्ष

भरतपुर । राजमार्गसँगैको नाली निर्माणका क्रममा देखिएको लापरबाहीका कारण गैँडा मरेको सरकारद्वारा गठित छानबिन कार्यदलले निष्कर्ष निकालेको छ ।

राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ईआईए प्रतिवेदन नचाहिने कानुनी छिद्र पत्ता लाएर नाली बनाउँदा गैँडा मरेको प्रतिवेदन कार्यदलले दिएको छ ।

पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलमा निर्माण हुँदै गरेको सडक नालीमा परेर गत माघ ९ गते चुरे र महाभारतबीच वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर बरण्डाभार वन क्षेत्रमा खनिएको नालीमा परी एक वयस्क गैँडा मरेको थियो ।

पूर्वपश्चिम राजमार्ग विस्तारसँगै नाली निर्माणका लागि खनिएको खाल्टोमा परेको गैँडा रड गडेर मरेकोे थियो । मरेको सम्बन्धमा छानबिन गर्न गठित समितिले सो निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको छ ।

उक्त घटनाको छानबिन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य हुनुहुन्थ्यो ।

मन्त्रालयमा बुझाएको अध्ययन प्रतिवेदनमा वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोरमा समेत वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी राजमार्ग तथा नाली विस्तार गरिएको पाइएको उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले प्रतिवेदनबारे जानकारी दिँदै वन्यजन्तु ओहोरदोहोर गर्ने नाकामा भएको विकास निर्माणमा लापरबाही गर्नेलाई कानुनी कारबाही गर्नसमेत सिफारिस भएको जानकारी दिनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *