टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा

काठमाडौं- टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २-१ को गोल अन्तरले हराउँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा अकायदिनले हेडमार्फत गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा हेडमार्फत गोल गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए ।

७६औं मिनेटमा फेरी अर्को गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लियो । डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो । सोही गोल नै जितका लागि पर्याप्त गयो ।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । इङ्ल्यान्डले शनिबार राती स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ ।