इंग्लिस प्रमियर लिग फुटबल :म्यान्चेस्टर सिटीद्वारा न्युक्यासल ३-२ गोल अन्तरले पराजित

काठमाडौं ! इंग्लिस प्रमियर लिग फुटबलमा साविक च्याम्पियन म्यानचेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँग अङ्क दुरी २ अङ्कमा झारेको छ।

शनिबार राति केभिन डि ब्रुएनेको उत्कृष्ट प्रदर्शनमा न्युक्यासललाई ३-२ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानको दौडमा फर्किएको हो।

खेलमा पहिलो हाफमा २-१ ले पछि परेको अवस्था उल्टाउँदै सिटीले ३-२ को जित निकाल्यो। बर्नान्डो सिल्भाको गोलमार्फत २६ औं मिनेटमा अग्रता बनाएको सिटीविरुद्ध न्युक्यासलले ३५ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि अलेक्जेन्डर इक्सले ब्रुनो गुइमाराइसको पासलाई सदुपयोग गरेका थिए। २ मिनेटपछिनै ३७ औं मिनेटमा एन्थोनी गोर्डनले न्युक्यासललाई अग्रता दिलाए।

तर दोस्रो हाफमा सिटी खेलमा फर्कियो। ७४ औं मिनेटमा केभिन डि ब्रुएनेले सिजनको पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। उनी इन्जुरी पछि टोलीमा फर्किएको दोस्रो खेलमानै गोल गर्न सफल भए। उनको यो सिजनको पहिलो गोल हो। इन्जुरी समयमा डि ब्रुएनेकै पासमा ओस्कार बब्सले निर्णायक गोल गर्दा सिटीले महत्वपूर्ण तीन अङ्क हाँसिल गर्यो ।

जितसँगै २० खेलबाट सिटी ४३ अङ्कका साथ दोस्रो स्थानमा उक्लिंदा समान खेलबाट लिभरपुल ४५ अङ्कका साथ पहिलो स्थानमा रहँदा एस्टन भिल्लाको ४२ र आर्सनलको ४० अङ्क रहेको छ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले फुलह्यामलाई १-० ले हराउँदै ३१ अङ्कका साथ आठौं स्थानमा उक्लियो। चेल्सीको जितमा कोली पाल्मरले पेनाल्टीमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।