इंग्लिस प्रिमियर लिग फुटबल : आर्सनल र लिभरपुल १-१ गोलको बराबरी

काठमाडौं ! इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको लिभरपुलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। शनिबार राति भएको खेलमा अग्रता जोगाउन नसक्दा आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार राति लिभरपुलसँग अंक बाँडेको हो।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको चौंथो मिनेटमै आर्सनलले अग्रता लिएको थियो। मार्टिन ओडिगार्डको फ्रिकिकमा गाब्रियलले सानदार हेड गर्दै अग्रता दिलाएका थिए। २९औं मिनेटमा एलेक्जान्डर अर्नोल्डको पासमा मोहम्मद सलाहले बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरी भयो।

प्रिमियर लिगकै अर्को खेलमा टोटनहमले एभर्टनलाई २-१ ले पराजित गर्दा लुटन टाउनसँग न्युक्यासल १-० ले पराजित भयो। त्यस्तै, बर्नलीले फुलह्यामलाई २-० ले पराजित गर्दा बोर्नेमाउथले नोटिंघम फरेस्टलाई ३-२ ले हरायो।

१८ खेलपछि आर्सनल ४० अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट लिभरपुल र एस्टन भिल्ला ३९-३९ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा टोटेनह्याम ३६ अंकका साथ चौंथो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको सिटी ३४ अंकका साथ पाँचौं स्थानमा छ।