क्लब विश्वकपको उपाधि जित्यो म्यानचेस्टर सिटीले

एजेन्सी ! म्यानचेस्टर सिटीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० ले पराजित गर्दै इतिहासमा पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ।

साउदी अरेबियामा भएको खेलमा जुलियन अल्भारेजले दुई गोल गरेपछि सिटीले सहज जित निकाल्यो।

सिटीले गत वर्ष च्याम्पियन्स लिगको उपाधि जितेपछिको यो पहिलो उपाधि हो। खेलमा सिटीले पहिलो मिनेटमै अल्भारेजको गोलमार्फत् अग्रता लिएको थियो। खेल सुरु भएको ४० सेकेन्डमा नै अल्भारेजले गोल गरेका थिए।

खेलको २७ औं मिनेटमा सिटीले अग्रता दोब्बर बनायो। फिल फोडेनको क्रसमा निनोले आफ्नै पोस्टमा गोल गर्न पुग्दा सिटीले खेलमा २-० को अग्रता बनायो। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो रवाफिलो प्रदर्शन जारी राख्यो।

खेलको ७२औं मिनेटमा अर्जेन्टिनी स्ट्राइकर अल्भारेजको क्रसलाई नै फिल फोडेनले सदुपयोग गर्दा सिटीले ३-० को अग्रता बनाएको थियो। टिमका लागि चौंथो गोल अल्भारेजले नै गरे।

उनले ८८ औं मिनेटमा चौंथो गोल गर्दै सिटीको पहिलो क्लब विश्वकपको उपाधि पक्का गरेका थिए।