स्पेनिस लालिगा : बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लियो जिरोना

काठमाडौं ! स्पेनिस लालिगामा जारी सिजन उत्कृष्ट प्रदर्शन गर्दे आएको जिरोनाले शनिबार राति भएको खेलमा बार्सिलोनालाई ४-२ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

उपाधि दाबेदारीमा अब्बल बन्दै गएको जिरोनाले बार्सिलोना विरुद्ध सानदार प्रदर्शन गर्‍याे। रोमाञ्चक खेलमा बार्सिलोनालाई उसकै मैदानमा ४-२ ले पराजित गरेपछि रियल म्याड्रिडलाई २ अंकले पछि पार्न जिरोना सफल भयो। खेलमा पकडका बाबजुत बार्सिलोना भने घरेलु समर्थकमाझ स्तब्ध बन्यो।

बार्सिलोनाको भ्रमणमा आएको जिरोनाका लागि आर्टेम डोभब्योक, म्यागुएल गुटिरेज, भ्यालेरी फर्नान्डेज र क्रिस्थियान स्टुनीले समान एक-एक गोल गरे। बार्सिलोनका लागि रोबर्ट लेवनडोस्की र इल्कयी गुन्डोगनले गोल फर्काए पनि टिमका लागि सान्त्वना गोलका रूपमा रह्यो।

बार्सिलोनाको मैदान स्टडी ओलम्पिक लुइस कम्पनीमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको १२औं मिनेटमा पछि परेको थियो। आर्टेम डोभब्योकले भिक्टरको पासमा गोल गर्दै जिरोनालाई अग्रता दिलाए। तर, जिरोनाको त्यो अग्रता लामो समय टिकेन। १९औं मिनेटमा रोवर्ट लेवनडोस्कीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए।

४०औं मिनेटमा म्यागुएल गुटिरेजले गोल गर्दै जिरोनालाई पहिलो हाफमै २-१ को अग्रता दिलाए। उनले इभान मार्टिनको पासलाई सदुपयोग गरे। ८० औं मिनेटमा भ्यालेरी फर्नान्डेजले गोल गरेपछि जिरोनाको जित निश्चित मानिएको थियो।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इल्कयी गुन्डोगानले फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे तर इन्जुरी समयको पाँचौं मिनेटमा क्रिस्थियान स्टुनीले गोल गर्दै बार्सिलोनाको हार निश्चित गरेका थिए।

जितसँगै जिरोनाको १६ खेलबाट १३ जित, २ बराबरी र १ हारका साथ ३९ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानको रियलको ३९ अंक छ। बार्सिलोना भने १६ खेलबाट ३४ अंक जोडेर चौंथो स्थानमा रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

समान ३४ अंक रहे पनि एट्लेटिको मड्रिड गोल अन्तरमा अघि रहेको छ। आइतबार राति नै भएका अर्को खेलमा एट्लेटिको म्याड्रिडले अल्मेरियालाई २-१ ले पराजित गरेको थियो।