युइएफए सुपर कपको उपाधि म्यान्चेस्टर सिटीलाई

एजेन्सी ! इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ।

बुधबार राति भएको फाइनलमा स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो।

ग्रीसको एथेन्समा भएको खेलमा निर्धारित समय दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो। टाइब्रेकरमा सिटीका सबै ५ खेलाडीले गोल गर्दा सेभियाका नेमान्जा गुडेल्जको अन्तिम प्रहार सफल हुन सकेन।

यसअघि कम्युनिटी शिल्डको उपाधि चुकाएको सिटीले सुपर कपमा भने जित हासिल गर्‍यो।

त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५ औं मिनेटमा अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा अग्रता बनाए पनि सेभियाले उक्त अग्रतालाई जोगाउन सकेन।

सिटीले ६३ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्किएको थियो। २१ वर्षीय युवा विंगर कोल पाल्मेरले रोड्रीको पासमा आकर्षक हेडमार्फत् टिमलाई बराबरीमा ल्याएका थिए।

युइएफए सुपर कपमा पहिलो सहभागितामै सिटी च्याम्पियन बन्यो। युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ। सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो।

सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहेको थियो। सिटीले गत सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जितेको थियो।

सेभियाले सातपटक सुपर कपमा खेल्दा एक पटकमात्रै च्याम्पियन बनेको छ। सेभिया सन् २००६ मा च्याम्पियन बनेको थियो। त्यसयता, २००७, २०१४, २०१५, २०१६, २०२० र २०२३ मा सुपर कपमा खेलेपनि उपाधि जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *