जोन ग्याम्पर ट्रफीको उपाधि जित्यो बार्सिलोनाले

एजेन्सी । बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० को सानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । पाँचौ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा ३-० ले अघि बढ्यो ।

१९औं मिनेटमा पेड्रीले चौथो गोल गरे । ४९औं मिनेटमा परिवर्तित खेलाडी औवामियाङले गोल गरे । ८४औं मिनेटमा अर्का परिवर्तित खेलाडी फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई सानदार जितसहित च्याम्पियन बनाए ।

बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *