साफ यु-२० अन्तरगत नेपाल आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं ! साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । भुवनेश्वरको कालिंगा  रङ्गशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ ।प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको र अपेक्षा समेत ठूलो रहेको बताएका छन् ।

“नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका खासै प्रतियोगिता भएको छैन,”  प्रशिक्षक केसीले भने “अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएको कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौँ । ”
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको बताए । यस प्रतियोगिताका लागि  कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान  आयुषले बताए ।
यता, माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।
यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलङ्कासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *