बार्सिलोनाद्रारा लेभान्टे ३-२ गोल अन्तरले पराजित

एजेन्सी । स्पेनिस् ला लिगमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि पिएरे इमरिक औवामियाङ, पेड्री र लुक डि जोङले समान एक-एक गोल गरेका थिए । घरेलु टोली लेभान्टेको लागि जोस लुइस मोरालेस र गोन्जालो मेलेरोले गोल गरे । सबै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको ५२औँ मिनेटमा मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्टालाई अग्रता दिलाएका थिए । बक्समा ड्यानी आल्भेसले सनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै लेभान्टेलाई पेनाल्टी दिएको थियो ।

५९औं मिनेटमा औवामियाङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले औसमाने डेम्वेलेको पासमा गोल गरेका थिए । ६३औं मिनेटमा पेड्रीले पाब्लो गाभीको पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

८३औं मिनेटमा मेलेरोले पेनाल्टीबाटै गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फउल गरेपछि लेभान्टाले पुनः पेनाल्टी पाएको थियो ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई ३-२ रोमाञ्चक जित दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३० अंक नै रहेपनि सेभिया गोल अन्तरमा पछि छ । पराजित लेभान्टे २२ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *