जमैकालाई ४-० गोल अन्तरले पराजित गर्दै क्यानडा विश्वकपमा छनौट

एजेन्सी । क्यानडा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा जमैकालाई ४-० गोल अन्तरले पराजित गर्दै एक खेल बाँकी छँदै क्यानडा कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।

घरेलु मैदानमा क्यानडालाई सानदार जित दिलाउनको लागि सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले समान एक–एक गोल गरे भने एक गोल भने उपहार पाएको थियो ।

खेलको १३औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा टाजोनले गोल गर्दै क्यानडाको अग्रता दोब्बर बनाए । ८३औँ मिनेटमा होइलेटले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले सानदार जित निकाल्यो ।

यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछ ।

क्यानडा दोस्रोपटक विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो । उक्त विश्वकपमा क्यानडाले समूह चरण पार गर्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *