उठ्न थाल्यो काठमाडौंको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विसर्जन थालिएको हो ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएका सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरू गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १ सय ४३ ट्रिप फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरेको जानकारी दिनुभयो ।

स्थानीय अवरोधका कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राति फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने जनाएपछि फोहोर व्यवस्थापन चालु भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजो १ सय ४३ ट्रिप व्यवस्थापन गरेका छौं, आजबाट नियमित लैजानेछौं ।

सडकमा रोकिराखेका, बाटोमा थुप्रिएको फोहोर व्यवस्थापन शुरू गरेको छ । यो खबर आजको नेपाल समाचरपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *