फोहोर नउठ्दा महानगरबासीलाई सास्ती : सरकार पनि मौन,महानगर झन बेखबर

काठमाडौं । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।

बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो ।

विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ ।

यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको छ ।

यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाइ छ तर महानगरबासीलाई भने फोहोरको दुर्गन्धले सास्ती खेप्नु परेको छ। संघिय सरकार र महानगरकै बेवास्था र ढिलासुस्तीले गर्दा फोहोर नउठेको महानगरबासीको ठम्याई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *