तुलसीको पूजाआराधना गरि आज हरिशयनी एकादशी मनाइंदै

काठमाडौं ! प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर ४ महिनासम्म गरिने विशेष पूजा आराधना आज बिहीवारदेखि शुरू हुँदैछ ।

१ महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने ४ महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले ५ महिना हुने भएको छ ।

१ वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका २ समेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका ४ महिनामा पर्ने ८ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र ४ महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहीवार बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका ४ नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *