आज देशभर नागपञ्चमी मनाइँदै

काठमाडौं ! प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरूप भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जग मुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिइँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *