एमाले सचिवालय बैठकले यस्तो गर्‍यो निर्णय

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ ।
बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । ‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले नेकपा एमालेको तर्फबाट सकारात्मक योगदान पुर्‍याउने हिसाबले नेकपा एमाले योगदान गर्नुपर्दछ भन्ने हामीले निष्कर्ष निकालेका छौँ’, उहाँले भन्नुभयो ।
पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको बताउँदै उहाँले त्यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको पोखरेलले बताउनुभयो । ‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उहाँले भन्नुभयो ।
देशमा उत्पन्न निराशालाई चिर्ने र देश भित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास नयाँ सरकारले गर्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका प्रश्नमा, सामाजिक न्यायका प्रश्नमा यो सहकार्य फलदायी हुने विश्वास बैठकले व्यक्त गरेको छ’, पोखरेलले भन्नुभयो ।
बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो । ‘त्यसको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गर्‍यौँ’, उहाँले भन्नुभयो ।