लिपुलेकमा भारतले गरिरहेको सडक विस्तारप्रति एमालको आपत्ति, भारतसँग गम्भीर संवाद गर्न माग

काठमाडौं ! प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भारतीय सरकारले  नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक विस्तारप्रति विरोध जनाएको छ।
एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले  मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने गतिविधि बन्द हुनुपर्ने बताउनु भएको छ।
‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’

राष्ट्रियतासँग सम्बन्धित यस्ता गम्भीर विषयमा सरकार मौन रहेको हुँदा अनेकौं प्रश्नसमेत जन्माएको भट्टराईले बताउनु भएको छ।
यस विषयमा भारत सरकारसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि एमालेले माग गरेको छ।

भारतीय प्रधानमन्त्री मोदीले डिसेम्बर ३० तारिखमा उत्तराखण्डको हल्दवानीमा चुनावी सभालाई सम्बोधन गर्दै लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताउनु भएको थियो।

उहाँले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको अभिव्यक्ति दिनुभएको थियो। विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको पनि बताउनु भएको थियो।
भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै अघिल्लो ओली सरकारले आपत्ति जनाइसकेको छ। तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको हो र अहिलेको सरकारले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *