एमाले कैलालीको नेतृत्व लिन दौडधुप सुरु : यी हुन् अध्यक्षका आकांक्षीहरु

धनगढी ! नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ। अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने निश्चित भएको छ।

अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्नो एजेन्डा सहित प्रस्तुत हुन थालेका छन् । यसैबिच अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्याएका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगानाले पनि जिल्लाको नेतृत्व लिन आकांक्षा देखाएका छन् । जिल्लाका कार्यकर्ताहरुले नेतृत्वका लागि नयाँ विकल्प खोजिनुपर्ने आवाज उठाइरहेका बेला उनले आफुलाई नयाँ अनि सक्षम नेतृत्व सावित गरि एमाले कैलालीलाई जनतामाझ अझ लोकप्रिय पार्टी बनाउने एजेन्डा सहित जिल्ला दौडाहामा निस्केका छन्। सरल,सालिन र अहिलेसम्म कुनै अवसर नपाएका नेता ढुंगानाले आफुले जिल्लाको नेतृत्व पाए आगामी निर्वाचनमा एमालेलाई कैलाली जिल्लामा पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् ।

त्यसैगरी एमाले कैलालीका हाल कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा प्रसाद जोशीले पनि आफुलाई जिल्ला अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् । उनले आफू कार्यवाहक अध्यक्ष भएकाले जिल्ला अध्यक्षका लागि स्वभाविक दावी रहने भन्दै जिल्ला दौडाहामा निस्केका छन् ।

जिल्ला अध्यक्षका लागि हालका जिल्ला सचिव डेजि पाण्डेले पनि महत्वाकांक्षा राखेका छन् । आफू हालपनि पदाधिकारी रहेको र कार्यकर्ताले पत्याए अध्यक्ष बन्न तयार रहेको भन्दै कार्यकर्ताहरु सँग छलफल गर्ने गरेका छन् ।

यसैबीच एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन रोचक हुने देखिएको छ। नेताहरुको पहिलो प्राथमिकता सहमतिय नेतृत्व चयनमा हुनेछ तर सहमति कस्को नाममा गर्ने भनेर उनीहरु नै कन्फ्युज देखिएका छन् । कैलालीमा गत निर्वाचनमा एमाले संघ र प्रदेशको निर्वाचनमा शून्य भएको छ। स्थानीय निर्वाचनमा पनि दुई गाउँपालिकाको नेतृत्व बाहेक अन्य ठाउँमा जित्न सकेको थिएन। जिल्लालाई निर्वाचनमा शून्य बनाउने र तल ग्रासरुटमा कुनै कार्यक्रम अनि उर्जा नदिएको भन्दै जिल्ला भरिका कार्यकर्ताहरु वर्तमान पदाधिकारीसँग रुष्ट छन् । अधिकांश अगुवा नेता एवं कार्यकर्ता रुष्ट बुझेका नेतृत्वले सहमतिका नाममा पुरानै पदाधिकारीलाई नेतृत्वमा अघि सारे प्रतिनिधिहरुले अस्वीकार गर्ने निश्चित छ। जिल्लाको यो परिस्थिति बुझेका नेताहरु पनि सहमतिका नाममा पुराना पदाधिकारीलाई जबर्जस्ति अघि बढाउने रिस्क नलिने बुझिएको छ। कार्यकर्ताहरुले पुराना पदाधिकारीलाई सहमतिका नाममा फेरि नेतृत्व सुम्पिन खोजे मान्य नहुने समेत बताइसकेका छन् । त्यसैले सहमतिपनि नयाँ विकल्पका नाममा खोजिए सान्दर्भिक हुने र त्यसमा पनि कुरा नमिले अधिवेशन निर्वाचन प्रणालीमा पुगेर नेतृत्व चयन हुने निश्चित जस्तै देखिएको छ।

एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन सुख्खडमा हुने भएको छ। अधिवेशनका लागि जिल्लाभरिका वडाहरुमा माघ २७ गते प्रतिनिधि छनौटको काम हुँदैछ।