वर्तमान गठबन्धन सरकार देशका लागि बोझः उपमहासचिव ज्ञवाली

चितवन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै गएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले यस्तो तथ्य औंल्याउनुभएको हो । उहाँले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताउनुभयो ।
‘मेडिकल ट्रममा स्वास्थ्य स्थितिको एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ । एउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्काेतिर हुँदै सबै अङ्गले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो– यतिबेला मुलुकको अवस्था झण्डै झण्डै त्यस दिशातिर गएको छ ।’
उहाँले देशको बाह्य सम्बन्धहरू असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्टाचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकारात्मक मनोविज्ञान बढेको तथ्य औंल्याउनु भयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो– नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर विचलनहरू उत्पन्न भएका छन् । सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरू, पक्षहरूसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ ।
उहाँले दस हजार मेगावाट विद्युत बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरू भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमा भन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताउनुभयो ।
‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन । बरु गठबन्धन सरकार राज्यको सम्पत्ति दोहन गर्न लागेको छ । विकास निर्माण ठप्प छ । प्रधानमन्त्री र मन्त्रीस्वयं सामाजिक सम्बन्धहरू, धार्मिक सद्भाव खल्बलाउन लागिपरेका छन्’, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
उहाँले वर्तमान गठबन्धन सरकार देशको लागि बोझ भइसकेकालवे सरकारविरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन शुरू गर्ने वताउनुभयो । उपमहासचिव ज्ञवालीले सरकारले नगरे पनि जनतालाई निरास नहुन र आशा जगाउने सन्देश प्रवाह गर्न आन्दोलन सुरु गर्न लागेको स्पष्ट गर्नुभयो ।