एमाले गण्डकी प्रदेश कमिटीको पहिलो बैठक सम्पन्न

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो बैठक शुक्रबार( २०८० पुस १३ गते) पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका उपमहासचिब  पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजनासहित अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा प्रमाणित भइसकेको बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारले  बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै  उहाँले विग्रँदो अर्थतन्त्र, सामाजिक अराजकता लगायत विषयका कारण देश नै बर्बादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो ।


उहाँले नेकपा (एमाले)ले आम जनताको चाहना र इच्छा बुझेर काम गर्नुपर्ने बताउनुभयो ।
पार्टीका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरूलाई  सुदृढ पार्टी निर्माणमा हरतरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माणमार्फत् ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा पुग्न सकिने बताउनुभयो । बैठकमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन–२०८४ को अभिष्ट पूरा गर्न सिङ्गो पार्टी कमिटी र सदस्यहरू एकमना एकताका साथ  लाग्नुपर्नेमा जोड दिनुभयो । नेता अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बीचमा निरन्तर जानुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश कमिटीका सदस्यहरूको कार्य बिभाजन गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले बताउनुभयो ।